सूचना
समाचार र सञ्चार साधन
२०७९।०३।०९
नयाँ जीवन पाएको वाल्मीकि विद्यापीठ (फोटो फिचरसहित)

सरकारी क्याम्पसको शौचालय कस्तो होला ? कक्षाकोठा कस्ता होलान् ? भित्ता आदिको रुप कस्तो होला ? सहजै कल्पना गर्नुहुन्छ– फोहोर । बेथिति । भित्ताभरि लेखिएका । दुर्गन्धले शौचालयभित्र प्रवेश गर्न नै नसकिने । तर पछिल्लो समय काठमाडौँको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ (क्याम्पस) पुग्नुभयो भनेर निकै रहरलाग्दो बनेको छ ।

चाहने हो भने सरकारी क्याम्पसलाई सफासुग्घर तुल्याउन सकिन्छ भन्ने उदाहरण यो क्याम्पस बनेको छ । वाल्मीकि विद्यापीठको परिवर्तित स्वरुपले गर्दा सरकारी क्याम्पसलाई पनि आकर्षक बनाउन सकिन्छ भन्ने समाचारको विषय बन्न पुगेको छ ।विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकालले भने, “नयाँ प्रवेशद्वार निर्माण भइसकेपछि क्याम्पसको नयाँ स्वरुपले पूर्णता पाउने छ ।”

कुनै बखत विद्यार्थी वा प्राध्यापकले सकभर शौचालय जानु नपरोस् भन्ने सोच्थे । भाँचिएका ढोका र ढोकामा चुकुलसमेत थिएन । अब पुरुष, महिला र प्राध्यापकका शौचालयले समेत नयाँ जीवन प्राप्त गरेको छ ।क्याम्पस परिसरभित्रका दुई वटा भवनका ७० वटा कोठा रङ्गरोगन गरिएको छ । प्लास्टर गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २८ को कार्यालयमा पहल गरिएपछि क्याम्पस परिसरमा ब्लक छापिएको छ । प्रवेशद्वारमा ढलले गर्दा क्याम्पस हाताभित्र प्रवेश गर्न कठिन हुने अवस्था अब अन्त्य भएको छ । उनले वडा कार्यालयले बास्केट बल र भलिबल कोर्टका लागि १० लाख रुपियाँ विनियोजन गरिदिएको बताए ।

प्राध्यापक विश्राम कक्षले समेत नयाँ स्वरुप पाएको छ । अचेल सो कक्षमा प्राध्यापकहरु बस्न थालेका छन् । ठाउँ ठाउँका भित्तामा संस्कृतका सुक्ति लेखिएका छन् ।क्याम्पसका प्राचार्य डा. ढकालले मुल प्रवेशद्वार निर्माणका लागि इबिडिङ गरिएको जानकारी दिए । संस्कृति झल्किने प्रवेशद्वार निर्माण हुनेछ । उनले नेपाल संस्कृत विश्वविद्यालयसँग ५० लाख रुपियाँ माग गरी सुधारका कार्य गरिएको बताए ।

हेल्पिङ हेन्ड नामक संस्थासँग अनुरोध गरी १५ लाख रुपियाँको खर्चमा खानेपानीको व्यवस्था गरिएको छ । नयाँ क्यान्टिन निर्माण गरिएको छ । पहिले निःशुल्कमा रहेको थियो भने अब क्यान्टिनले मासिक एक लाख १० हजार रुपियाँ घरभाडा क्याम्पसलाई बुझाउँछ ।

उनले बर्सेनि छाप्नुपर्ने मुखपत्र ११ वर्षपछि छापिएको बताउँदै रहेक प्राध्यापक र कर्मचारीका लागि ब्याचसमेत तयार गरी अनिवार्य रुपमा लगाउनुपर्ने नियम बनाइएको बताए ।

“क्याम्पसभित्रको स्वरुप नयाँ भयो तर क्याम्पसको ठिक बाहिर फोहर सङ्कलन गर्ने कार्यलाई रोक्न सकेका छैनौँ । त्यसका लागि पनि पहल भइरहेको छ” उनले भने।

थप पढ्नुहोस्
२०८१।०२।१२
स्वरूप फेर्दै वाल्मीकि विद्यापीठ

२ वैशाख काठमाडौँ । ‘गणेशको आकृति त दुरुस्तै बनेको छ । व्यासको चाहिँ अलि मिलिसकेको छैन’, अध्यापक र विद्यार्थी परिसरमा उभिएर दङ्ग पर्दै भलाकुसारी गर्दैछन् ।वाल्मीकि विद्यापीठ (क्याम्पस) परिसरका भित्तामा कला-मजदूरहरूले रङगरोगनसहित चित्र कोर्ने काम गरिरहेका छन् । सरस्वती र बुद्धको चित्र पनि कोरिँदैछ ।

विगतमा कच्ची सडकजस्तो देखिने क्याम्पसको परिसर अहिले ब्लक राखेर ढलान गरिएको छ भने विगतमा फोहोर देखिने यही ठाउँ अहिले सफासुग्घर देखिएको छ । मर्मतपछि अहिले विद्यापीठको प्वाल परेको छत टालिएको छ । अहिले छानो चुहिँदैन, शौचालयमा दुर्गन्ध छैन । प्रवेशद्वारमा खुलारूपमै बग्ने ढल अहिले टुकुचासम्म व्यवस्थापन भएको छ । गुणस्तरीय पिउने पानीको उपलब्ध भएको छ ।

थप पढ्नुहोस्
२०८१।०३।२७
वाल्मीकि विद्यापीठको आवरणलाई नियाल्दा

गणेश लम्साल । समय बलवान् छ । जे हुन्छ समयकै कारणले हुन्छ । समयको अधीनमा छौँ हामी । हिजोको अवस्था आज छैन, आजको भोलि हुँदैन । परिवर्तन समयको माग हो । समयले विभिन्न परिवर्तनको महसुस गराउँछ । परिवर्तन हुन उपयुक्त समयको खाँचो पर्दछ । समय भएपछि हरेक चिजमा परिवर्तन देखा पर्छ । वाल्मीकि विद्यापीठको पनि समय आएछ । धेरैलाई जीवन दिएको वाल्मीकि विद्यापीठले अहिले आफैले पुनर्जीवन पाएको छ । अहिले विद्यापीठले दिन दुगुना रात चौगुना भनेझैँ परिवर्तन महसुस गरिरहेको छ । विद्यापीठमा भएका परिवर्तन आँखै अघिका कुरा हुन् । अहिले विद्यापीठ उज्यालिएको छ । विद्यापीठ मुस्कुराएको छ ।


वाल्मीकि विद्यापीठको भौतिक संरचनमा परिवर्तन भएको छ । विद्यापीठका बाहिरी पर्खाल रङ्गिएका छ्न् । ती पर्खाल काठमाडौँका प्राचीन,धार्मिक एवम् सांस्कृतिक सभ्यता झल्काउने मठमन्दिर, पोखरी, दरबारलगायतका चित्रले सजिएका छन् । विद्यापीठको मूलद्वारको डिजिटल बोर्डले प्राचीन सभ्यता, संस्कृति र दर्शनको संरक्षण गर्ने थलो भइकन पनि आधुनिकतातिर लम्कदै छ है भन्न खोजेको बुझिन्छ । प्रवेशपछि देखिने सम्मुख र दाँयातिरको फूलबारीले आँखा तानिहाल्छ । दायाँतर्फ नै बगैँचा निर्माण गरी दुबो रोपिएको छ । विद्यापीठको वातावरणमा प्राकृतिक स्वच्छता भेटिन्छ । बाँयातर्फको भित्तामा शैक्षणिक र प्रशासनिक भवनबाट उपलब्ध हुने सेवासम्बन्धी जानकारी दिने गरी सूचना राखिएको छ । अलिक अगाडि बनाइएका गणेश, व्यास, सरस्वती , बुद्ध र सप्तर्षिलगायतका तस्बिरले संस्कृतको थलो हो है भन्ने जनाइरहेका छन् । भित्तामा मानवजीवनकै परम लक्ष्यको रूपमा वेदव्यासविरचित अठार पुराणको सार लेखिएको छ –


अष्टादशपुराणेषु व्यासस्य वचनद्वयम् ।परोपकार: पुण्याय पापाय परपीडनम् ।। परोपकारको पाठ पढाउने केन्द्र हो विद्यापीठ ।अशान्त विश्वलाई शान्त बनाउने केन्द्र हो विद्यापीठ । म हैन हामी भन्ने भावनाको विकास गराउने केन्द्र हो विद्यापीठ । त्यहाँका तस्बिरले बोलका छन्,“ यो संस्कारको थलो । यो संस्कृतिको थलो हो । यो सभ्यता संरक्षणको थलो हो । यो त संस्कृतको थलो पो हो । यो त जीवन दर्शनको थलो हो । यहाँ वेद घन्किन्छ । वेदान्तलगायतका दर्शनको चर्चा हुन्छ । पुराणका कथाले मन अह्लादित बन्छ । ज्योतिषको गहिराइमा पुगेर ब्रह्माण्ड चहारिन्छ । साहित्यमा कालीदासहरूको सामीप्यता भेटिन्छ । धर्मशास्त्रीका चिन्तनमा धर्मको मूल भेटिन्छ । यो पौरस्त्य दर्शनको केन्द्र हो । यहाँ जीवन जिउने कला सिकाइन्छ । ´´ विद्यापीठको अगाडिपट्टि माता सरस्वतीको प्रतिमा प्रतिष्ठित छ । सरस्वती न: सुभगा मयस्करत् अर्थात् माता सरस्वती हामीलाई ऐश्वर्यप्रदान गर्ने होऊन् । यो हाम्रो आदर्श वाक्य नै हो । माताको अनुकम्पा विना हाम्रो गति छैन । सरस्वती मातालाई दाहिने पारेर शैक्षणिक भवन प्रवेश गर्न सकिन्छ । वर्षौँदेखि उजाडिएको यो शैक्षणिक भवन अहिले रङ्गिएको छ । यसका झ्याल ढोका र छानो मर्मत गरिएको छ । कक्षाकोठाहरू सफा छन् । कक्षाकोठा व्यवस्थित बनेका छन् , बन्दै पनि छन् । दुई तलाको यस भवनमा लेखिएका वेद, उपनिषद् ,योग, नीतिशास्त्रलगायतका आदर्श वाक्यहरूले विद्यार्थीलाई आफ्नो कर्म,आचारण र ज्ञानआर्जनप्रति अभिप्रेरित गरिराखेको आभास हुन्छ । यहाँ लेखिएको छ – सङ्घर्षद्वारे हि श्रिय: फलन्ति अर्थात् सङ्घर्षको ढोकामा नै ऐश्वर्य फल्दछन् । यस्ता वाक्यहरूले विद्यार्थीलाई घच्घचाइरहेछ्न् , जगाइरहेछन् ।


शैक्षणिक भवनको केन्द्रभागमा महर्षि वाल्मीकिको प्रतिमा छ । वाल्मीकि स्वयम् नै शास्त्र हुन् । उनकै नामबाट सञ्चालित यस विद्यापीठमा उनलाई पढ्न र बुझ्न सक्नु विद्यार्थीको कुरा हो । एवम् क्रमले यस भवनको माथिल्लो तलमा विषयअनुसारका विभाग छुट्ट्याइएको छ । केही विभाग तल्लो तलामा पनि छन् । विद्यार्थीको सहजताका लागि प्रत्येक विभागमा विषय शिक्षक र कक्षाको समयतालिका राखिएको छ । कोरोनाकालमा यस भवनको एउटा कक्षालाई स्मार्ट कक्षा पनि बनाइएको छ । माथिल्लो तल्लामै वेधशाला पनि छ तर हाल यो सञ्चालनमा छैन । वि सं २०७२ को भूकम्पले पुस्तकालय भवनमा क्षति पुगेकाले यस भवनकै एउटा कोठमा पुस्तकालय सेवा उपलब्ध गराइएको छ । शौचालयको राम्रो व्यवस्था छ । शैचालयको सरसफाइमा ध्यान दिइएको छ । खानेपानीको व्यवस्था पनि छ । हिलाम्मे र धुलाम्मे हुने विद्यापीठको अग्रभागमा ब्लक बिच्छाइएको छ । चउरमा बास्केटबल खेल्नका लागि ठाउँ बनाइएको छ । सवारी साधनका निम्ति पार्किङस्थल पनि बनेको छ । छेउछाउमा अम्बा, अनारलगायतका विभिन्न फलफूलका बिरुवाहरू रोपिएका छन् । अम्बा र अनार त फलेकै छन् । विभन्न जातका फूलहरू फुलेका छन् । अरू बिरुवाहरू बढ्ने क्रममा छन् । यसरी विद्यापीठले परिवर्तन चाखिरहेको छ । विद्यापीठको परिवर्तनमा धेरै सङ्घसंस्थाहरूले हातेमालो गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, काठमाडौँ महानगर, काठमाडौँ महानगरका २८ लगायतका वडा, विभिन्न सरकारी एवम् गैरसरकारी सङ्घ संस्थाहरूले विद्यापीठको भौतिक उन्नयनमा हातमा हात मिलाएका छन् ।


यी सबै कार्यको संयोजक र नेतृत्वकर्ता हुनुहुन्छ विद्यापीठका प्राचार्य प्रा. डा. भागवत ढकाल । उहाँको नेतृत्वमा विद्यापीठको मुहार फेरिएको छ । विद्यापीठमा दिनानुदिन काम भइरहेकै देखिन्छ, जसले विद्यापीठको मुहार उज्यालिएको छ । काठमाडौँका मेयर बालेन शाह बन्नु अघिसम्म विद्यापीठको बाहिरी भागमा थुप्रिने फोहोरको गन्ध कक्षासम्म आइपुग्थ्यो । फोहोरले टुकुचाको पुलदेखि विद्यापीठको प्रवेशद्वारसम्मको भाग ढाकेको हुन्थ्यो । हरेक दिन फोहोर ढङ्गुर हेरेर विद्यापीठ प्रवेश गर्नुपर्ने हुन्थ्यो । विद्यापीठमा प्रवेश गर्नै नमिल्ने गरि पनि फोहोर फालिएको हुन्थ्यो । फोहोर हप्तौँ थुप्रिने समस्या थियो । अति भएर एक पटक आन्दोलनमै उत्रिन परेको पनि थियो ।


आन्दोलनमा हल्काफुल्का भाटा पनि खाइयो तर समस्या भने समाधान हुन सकेन । केही दिनपछि फोहोरको डङ्गुर उस्तै थुप्रिन थाल्यो । समस्या जहाँको त्यहीँ रह्यो । नेतृत्व फेरियो समस्याको पनि समाधान भयो । अहिले त्यहाँ फोहोर फाल्न छाडिएको छ । फुटपाथ हिँड्न लायक बनेको छ । नालीको उचित व्यवस्थापनले विद्यापीठको अगाडिपट्टि पानी जम्ने समस्या समाधान भएको छ । यसका लागि काठमाडौँ महानगर, त्यसका वडा कार्यालयहरू र महानगर प्रमुख बालेन शाहलाई विशेष धन्यवाद छ, जसले गर्दा विद्यापीठको वातावरण स्वच्छ बनेको छ । ( लेखक वाल्मीकि विद्यापीठका विद्यार्थी हुन् । )     

मितिः २०८१ असार २४ गते २१:३४ बजे प्रकाशित





थप पढ्नुहोस्
२०८१।०३।२७
वाल्मीकि विद्यापीठ , वेदान्त विभागको आयोजनामा आज वाल्मीकि विद्यापीठमा आयोजित भानुभक्तीय रचनावाचन
वाल्मीकि विद्यापीठ , वेदान्त विभागको आयोजनामा आज वाल्मीकि विद्यापीठमा आयोजित भानुभक्तीय रचनावाचन, एवं भानुभक्तका रचनामा वेदान्तविषयक चर्चा एक भव्य समारोहका बिच वेदान्त विभागका विभागीय प्रमुख प्रा.डा सुमोधवर्धन कौडिन्यायनको  सभापतित्व र वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकालको प्रमुख अतिथ्यमा सम्पन्न भयो । प्राज्ञ एवं नेपाली भाषा साहित्यका विशिष्ट साधक प्रा.डा. देवी नेपालको विशिष्ट अतिथ्य रहेको सो कार्यक्रममा प्रा.डा. नुरापति पोखरेल र प्रा.डा .ध्रुवप्रसाद भट्टराई निर्णायकको रुपमा रहनुभएको थियो । तीन दर्जन बढी कवि कवियत्रीहरूको उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न विभागका अध्यक्ष , प्राध्यापक, विद्यार्थी र कर्मचारीहरूको  उपस्थिति रहेको थियो ।झण्डै तीन घण्टासम्म सञ्चालित सो कार्यक्रम  वाल्मीकि विद्यापीठका युवा विद्वान्  डा. उमेश घिमिरेले सञ्चालन गर्नुभएको थियो।  वेदान्त विषयकी विद्यार्थी जुनु मल्लिकले स्वागत भाषण गर्नुभएको सो सो समारोहलाई धन्यवाद ज्ञापन डा. चेतमणि न्यौपानेले गर्नुभएको थियो। १७ जना प्रतियोगी कवि र झण्डै २० बढी अप्रतियोगी कविहरूले आज कवितावाचन गर्नुभएको थियो।सहभागी हुनुभएको थियो।

थप पढ्नुहोस्
२०८१।०४।१९
गुरुपूर्णिमा र व्यास जयन्तीको पूर्व सन्ध्यामा वाल्मीकि विद्यापीठ न्याय विभागको आयोजनामा गुरु अभिनन्दन एवं सम्मान कार्यक्रम सम्पन्न भयो।

गुरुपूर्णिमा र व्यास जयन्तीको पूर्व सन्ध्यामा  वाल्मीकि विद्यापीठ न्याय विभागको आयोजनामा गुरु अभिनन्दन एवं सम्मान कार्यक्रम विभागीय प्रमुख प्राध्यापक जगतप्रसाद उपाध्यायको सभापतित्व एवं प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा .वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा एक भव्य समारोह बिच आज सम्पन्न भयो। डा. रामप्रसाद पौडेलद्वारा सञ्चालित सो कार्यक्रममा प्रा. चेतोनाथ शर्मा आचार्य, प्रा.डा. दीर्घराज घिमिरे , प्रा.विद्यानाथ उपाध्याय  प्रा.शिवहरि मरहट्ठा एवं प्रा.डा. वासुदेव त्रिपाठीलाई कदरपत्र दोसल्ला एवं फूलमालाले सम्मान गरिएको थियो। प्रा. घनश्याम भण्डारीले स्वागत मन्तव्य राख्नुभएको सो समारोहमा प्रा.डा. देवी नेपालले गुरु शीर्षक कविता वाचन गर्नुभएको थियो।  प्रा.डा .भागवत ढकाल प्राचार्य र प्रा.डा. सुधनकुमार पौडेलले शुभकामना मन्तव्य राख्नुभएको सो कार्यक्रममा सम्मानित प्रतिभाहरूले आआफ्ना अनुभव र अनुभूति सुनाउनु भएको थियो। सहायक प्राचार्य डा.रमा भट्टराई, डा. बैकुण्ठ घिमिरे ,श्याममणि नेपाल ,केशवशरण अर्याल ,माधव घिमिरे लगायतले रचना एवं सम्मानपत्र वाचन गर्नुभएको सो कार्यक्रममा सम्मानित गुरुका बारेमा सहायक प्राचार्य प्राध्यापक अच्युतप्रसाद लामिछानेले मन्तव्य राख्नुभएको थियो ।झन्डै पाँच घण्टासम्म चलेको सो विशिष्ट कार्यक्रममा विद्यापीठका प्राध्यापक, कर्मचारी, विद्यार्थी एवं समाजको विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत समुपस्थिति रहेको थियो।


थप पढ्नुहोस्